काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र खोलामा बढेको पानीले देशभरका प्रमुख राजमार्ग तथा सडकखण्डको यातायात प्रभावित भएको छ। सडक विभागले शनिबार बिहान ९ः३० बजे सार्वजनिक गरेको विवरणअनुसार विभिन्न मुख्य सडकमा पहिरो खस्ने, सडक भासिने र डाइभर्सन बग्ने समस्या देखिएको छ।
पृथ्वी राजमार्गका कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङ क्षेत्रमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। स्थानीय प्रशासनले अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाएको छ भने सडक विभागले पहिरो हटाउने काम अघि बढाएको जनाएको छ।
बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायत क्षेत्रमा पनि सडक अवरुद्ध छ। केही स्थानमा पहिरोसँगै डाइभर्सन बगाएकाले सडक तत्काल सञ्चालनमा ल्याउन समस्या भएको छ।
कर्णाली राजमार्गको गगने खोला तथा नाग्म–जुम्ला सडकखण्डको राँका क्षेत्रमा पहिरो र ढुंगा खसेपछि आवागमन ठप्प छ। सडक खुलाउन विभिन्न स्थानमा लोडरसहितका उपकरण परिचालन गरिएको छ।
सिद्धिचरण राजमार्गको ओखलढुंगा–सल्लेरी खण्डमा सोलुखोलानजिक सडक भासिएपछि यातायात रोकिएको छ। थप वर्षा नभए आज बेलुकासम्म मेसिन प्रयोग गरी ब्याक कटिङ गरेर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको विभागले जनाएको छ।
कान्ति राजमार्ग भने केही भागमा सञ्चालनमा आएको छ। मकवानपुर खण्डमा पहिरो हटाएर यातायात खुलाइए पनि ललितपुरको चपली र तकुर्चेलगायत क्षेत्रमा काम जारी छ। ती स्थानको काम सकिएपछि बिहान १० बजेपछि सडक पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर खण्डमा लेदोसहितको पहिरो खस्ने क्रम जारी छ। कालीगण्डकी करिडोरको जैमिनी नगरपालिका–८ बेलबगरमा ठूलो पहिरो गएको छ। दुवै क्षेत्रमा पहिरो हटाउन आवश्यक मेसिन तयारी अवस्थामा राखिएको छ।
त्यस्तै, तमोर करिडोरको छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढ्दा सडक अवरुद्ध भएको छ। पानीको बहाव घटेपछि सडक खुलाउने तयारी गरिएको छ। राप्ती राजमार्गको कपुरकोट तथा बागलुङ–बेनी सडकको हुलाके क्षेत्रमा पहिरो हटाउन उपकरण परिचालन गरिएको छ।
भालुवाङ–चकचके–लिवाङ सडकमा पहिरो हटाउने काम जारी रहेकाले साना सवारी साधन भने सावधानीपूर्वक सञ्चालन भइरहेका छन्।
लगातारको वर्षा र पहिरोका कारण सडकको अवस्था जुनसुकै बेला थप बिग्रन सक्ने भन्दै सडक विभागले यात्रु तथा चालकलाई यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। विभागले सडक अवरोधसम्बन्धी अद्यावधिक विवरण आफ्नो आधिकारिक माध्यमबाट सार्वजनिक गर्दै आएको जनाएको छ।




