काठमाडौं । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपासमा रहेको बलियो न्यून चापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा कमजोर हुने क्रममा छ । यसको प्रभावले अहिले देशका अधिकांश स्थानमा आकाशमा बादल लागेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा अधिकांश स्थानमा तथा कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अधिकांश स्थानमा तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । कोशी र बागमतीका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ । मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अधिकांश बदली रहनेछ । यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ । कोशीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा पनि वर्षा हुन सक्नेछ ।
रातिको समयमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अधिकांश स्थानमा तथा बागमतीको तराई क्षेत्रमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ । मधेस र कोशीका तराई क्षेत्रमा भने केही स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेसको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।



