images
images

बाढीपहिरोका कारण काठमाडौं जोड्ने प्रमुख सडक अवरुद्ध


  • 155
    SHARES
  • २०८३ आश्विन १० गते शनिबार

    बाढीपहिरोका कारण काठमाडौं जोड्ने प्रमुख सडक अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्गमा यातायात सेवा प्रभावित भएको छ । काठमाडौं जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथमा पहिरो तथा बाढीका कारण हिजैदेखि नै सवारी आवागमन अवरुद्ध छ ।

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, ज्यामिरेघाट तथा गजुरीनजिकको बाङ्गे क्षेत्रमा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ । ती क्षेत्रमा लगातार पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल सडक खुलाउन कठिन रहेको बताइएको छ ।

    बीपी राजमार्गका दुई स्थानमा रोशी खोलामा आएको बाढीले निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । वर्षा नरोकिएकाले सडक खुलाउने काममा समेत चुनौती देखिएको छ ।

    पृथ्वी, बीपी र कान्तिलोकपथमा यातायात अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं आवागमनका लागि त्रिभुवन राजपथ प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । उक्त सडकमा निश्चित समय तोकेर दुवैतर्फका सवारीसाधनलाई पालैपालो सञ्चालन गर्ने तयारी गरिएको छ ।

    यसैबीच, बाढीपहिरोका कारण देशका अन्य धेरै सडकखण्डमा समेत यातायात प्रभावित भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमको अवस्था हेरेर विभिन्न जिल्लामा सवारी आवागमनमा थप सावधानी अपनाउन आग्रह गरेको छ ।

    प्राधिकरणले बाढीपहिरोको उच्च जोखिममा रहेका मध्य तथा पश्चिम क्षेत्रका २५ जिल्लामा राति र दिउँसो दुवै समयमा सवारीसाधन पूर्णरूपमा सञ्चालन नगर्न सुझाव दिएको छ ।

    त्यस्तै पूर्वी पहाड तथा मध्य र पश्चिम क्षेत्रका २९ जिल्लामा रातको समयमा सवारी आवागमन बन्द गर्न र दिउँसोको अवस्थामा स्थानीय जोखिम हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले आवश्यक निर्णय लिन भनिएको छ ।

    कोशी, मधेश र बागमती प्रदेशका २३ जिल्लामा भने उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।


    images
    images

    Logo