काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका कतिपय क्षेत्रमा तत्काल नयाँ बस्ती बसाल्न सम्भव नरहेको बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापामगरले रसुवाको धुन्चे, स्याफ्रुबेंसी, टिमुरे तथा उत्तरगयाको बेत्रावतीलगायतका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएकाले तत्कालै बस्ती पुनःस्थापना गर्न कठिन रहेको बताए।
उनका अनुसार भोटेकोशी बाढीबाट चार जिल्लाका १५ स्थानीय तह प्रभावित भएका छन्। विपत्तिमा ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै उनले हालसम्म १ हजार ३ सय ९४ जनाको शव फेला परेको र ७ हजारभन्दा बढी मानिस बेपत्ता रहेको जानकारी दिए।
बाढीबाट आठ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको दाबी गर्दै उनले ४० भन्दा बढी पक्की तथा झोलुङ्गे पुलका संरचना ध्वस्त भएको बताए। त्यस्तै, ६ हजार ५ सयभन्दा बढी घर तथा बस्ती बाढीले बगाएको उनको भनाइ छ।
मुख्यमन्त्री थापामगरले विपत्तिपछिको अवस्थालाई सामान्य बनाउन संघ, प्रदेश र स्थानीय तह तीनै सरकार समन्वय गरेर काम गरिरहेको बताए। सुरुमा उद्धार तथा उपचारमा केन्द्रित सरकार अहिले खाद्यान्न व्यवस्थापन हुँदै पुनःस्थापना र पुनर्निर्माणको चरणमा प्रवेश गरेको उनले बताए।
प्रदेश सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाउने उनले जानकारी दिए। बाढीपछि रसुवा र नुवाकोटका लागि एक–एक करोड तथा धादिङ र चितवनका लागि ५०–५० लाख रुपैयाँ स्थानीय तहमार्फत खर्च गर्ने गरी प्रदेश सरकारले बजेट विनियोजन गरेको उनले बताए।
यस्तै, बाढीमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई काजक्रियाका लागि प्रतिमृतक २५ हजार रुपैयाँ उपलब्ध गराइएको र थप एक लाख रुपैयाँ राहत दिने घोषणा गरिएको पनि मुख्यमन्त्री थापामगरले बताए।



